३० बैशाख २०८३, बुधबार
चितवनमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई भोलि बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । लक्षित समूहका बालबालिकालाई फाइजर–बायोएनटेक नामक खोपको पहिलो मात्रा लगाउन लागिएको हो । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ ।
स्वास्थ्य कार्यालय चितवनकाअनुसार ९–१४ असारसम्म पूर्वी चितवनका कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका बालबालिकालाई खोप लगाइने छ । १४–१८ असारसम्म भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिए ।


चितवनमा लक्षित समूहका बालबालिका करिब ७० हजार ३८२ जना रहेको कार्यालयको अनुमान छ । बालबालिकाका लागि जिल्लामा भने ७६ हजार ८०० डोज खोप प्राप्त भएको केसीले बताए । विद्यालयमा पढ्ने र विद्यालय बाहिरका बालबालिका सबैलाई विद्यालय खोप केन्द्रमा नै खोप लगाइने उनले जानकारी दिए ।
५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने खोप अन्य समूहका व्यक्तिलाई लगाउन नमिल्ने उनी बताउँछन् । यी समूहका बालबालिकाई फाइजर–बायोएनटेकको सुन्तला रङको क्याप र घेरा भएको भाइलको खोप लगाइन्छ ।खोप लगाउँदाको दिनमा १२ वर्ष पुगेका बालबालिकालाई भने भाइलमा बैजनी रङको क्याप र घेरा भएको खोप लगाइने उनले बताए । एक भाइल खोपले १० जना बालबालिकालाई खोपको पहिलो मात्रा पुग्ने उनले बताए ।