सप्तकोशीमा बढ्यो पानीको बहाव, प्रतिघण्टा १ लाख ४१ हजार क्युसेक

होमल्याण्ड खबर

२०७९ असार १५ गते, बुधबार ११:२९ मा प्रकाशित

मंगलबारदेखि निरन्तर रुपमा पानी परेका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ । प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दिएको जानकारी अनुसार झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ ।

यस्तै मोरङको बक्राहा खोलाको पनि त्रास रहेको छ । अहिलेसम्म वस्ती भने जोखिममा नपरेको कार्कीले जानकारी दिए । यस्तै विराटनगरको सिंघीया खोला र केशलीया खोलामा पनि पानीको सतह बढेको छ ।

सिंघीया खोलाका कारण विराटनगर ८ का केही घर परिवार विस्थापित भएका छन् । आज राती कम पानी परेको कारण हिजो विस्थापित भएका केहीको पुनःस्थापना भएको छ । तर, बिहानदेखि पुनः पानी पर्न सुरु गरेको छ ।

यता, सुनसरी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएअनुसार सप्तकोशीमा पनि पानीको बहाव हिजो भन्दा बढेको छ । हिजो साँझसम्ममा प्रतिघण्टा १ लाख २५ हजार क्युसेक पानी नाम गरिएको थियो ।

अहिले बिहान ८ बजेको मापन अनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ पुगेको छ । कोशी ब्यारेजको ५२ वटा ढोका मध्ये १९ वटा ढोका खोलिएको छ ।