विमला प्रकरण : तत्काल प्रतिवेदन बुझाउन एमालेको माग

होमल्याण्ड खबर

२०७९ असार १७ गते, शुक्रबार १६:५९ मा प्रकाशित

नेकपा एमालेले लुम्बिनी प्रदेशका तत्कालीन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली प्रकरणमा गठन भएको छानबिन टोलीको प्रतिवेदन तत्काल बुझाउन र सार्वजनिक गर्न माग गरेको छ ।

तुलसीपुरमा उपमहानगरपालिका–५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटनाबारे प्रदेश सरकारले छानबिन समिति बनाएको थियो । तर, प्रतिवेदन हालसम्म सार्वजनिक हुन नसकेको छैन ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले छानबिन समितिको प्रतिवेदन छिटो सरकारलाई बुझाएर सत्य तत्य बाहिर सार्वजनिक गर्नुपर्ने माग गरे । उनले प्रतिवेदन बुझाउन नै ढिला गर्नु भनेको टोली र सरकार विमलालाई ढाकछोप गर्ने मनसाय रहेको टिप्पणी गरे ।

उनले राज्यमन्त्री जस्तो पदमा बसेको व्यक्तिबाट भएको घटनाको प्रतिवेदन छिटो बुझाएर स्पष्ट रूपमा घटनाबारे बाहिर ल्याउनु पर्नेमा प्रतिवेदन नै बुझाउन आनाकी गर्नुले धेरै शङ्का उत्पन्न भएको बताए ।

सरकारी छानबिन टोलीलार्ई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश थियो । असार १ गते गठित समितिले आजसम्म प्रतिवेदन बुझाएको छैन । अझै केही विषय बुझ्नु पर्ने भएकोले प्रतिवेदन बुझाउन ढिलाइ भएको जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते आन्तरिक मामिला मन्त्री तिलकराम शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त टोलीका सदस्यमा लुम्बिनी प्रदेशकी महिला बालबालिका मन्त्री रमा घर्ती र प्रदेशका महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी छन् ।