नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’

होमल्याण्ड खबर

२०७९ असार १९ गते, आईतवार १४:३९ मा प्रकाशित

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण जिन सिक्वेन्सिङमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा।डा। राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको पुष्टि गरे ।

उनका अनुसार संक्रमित व्यक्तिको ‘हिस्ट्री’ भन्ने खुल्न सकेको छैन । अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको अस्पतालले जनाएको छ । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन बढिरहेको छ ।

विज्ञका अनुसार ओमिक्रोनको अन्य भेरियन्टको संक्रमण भएका मानिसहरूमा पनि पुनः बीए फोर र बीए फाइभ उपप्रजातिको ओमिक्रोन देखिएको छ ।

‘हामीले दुई हप्ता अगाडि जिन सिक्वेन्सिङ गरेकोमा ओमिक्रोन देखिएको छ’ डा। झाले भनिन्, ‘पछिल्लो चरणका केसको जिन सिक्वेन्सिङ भइरहेको छ । संक्रमण बढ्नुमा कुन भेरियन्टले हो भन्ने थप पुष्टि होला ।’

पछिल्लो समय नेपालमा २४ घण्टामा सबैभन्दा कम चार जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । त्यो सख्या बढेर १५ असारमा २४ घण्टाभित्र ६२ जनामा पुष्टि भएको छ ।

असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण देखिएको थियो भने असार १८ गते दुई हजार ४६७ जनामा परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको थियो ।

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल अहिले ३१४ सक्रिय संक्रमित छन् । जसमध्ये ७ जना संस्थागत आइसोलेसन र चार जना सघन उपचार कक्ष ९आईसीयू० मा छन् ।