चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन: अध्यक्ष नेपाल

होमल्याण्ड खबर

२०७९ असार २७ गते, सोमबार ११:४७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रदेश सभाको चुनाव अगाडि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् ।

समाजवादी प्रेस संगठनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकीकरणबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले चुनावअघि एकीकरणकोसम्भावना नरहेको प्रष्ट पारे ।

एकीकरणको विषयले अहिले कतिपय कमिटी तरंगित भएका छन् । ‘एकीकरण भइहाल्छ कि भन्ने बुझाइ छ,’ उनले भने, ‘आगामी चुनावअघि कुनै पनि पार्टीसँग हाम्रो एकताको सम्भावना छैन ।

अध्यक्ष नेपालले आगामी चुनावसम्म अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताए । आवश्यक भएका ठाउँमा गठबन्धनबीच चुनावमा तालमेल हुने उनले बताए । अध्यक्ष नेपालले सबै कम्युनिस्ट पार्टीबीच वाम एकता भएर चुनावमा जाने सम्भावना तत्काल नरहेको बताए ।

समाजवादीले एक्लै जित्ने ठाउँमा एकल उम्मेदवारी दिने र आवश्यक भएका ठाउँमा गठबन्धनबीच तालमेल गरेर जाने उनको भनाइ छ । ‘गठन भएको छोटो अवधिमा हाम्रो पार्टी राष्ट्रिय पार्टीका रुपमा स्थापित भएको छ। आउने चुनावसम्म हामी सबै पालिका र वडा तहसम्म पुग्छौं,’ उनले भने, ‘चुनाव आफ्नै बलबुतामा लड्न सक्षम हुने गरि अहिले हामी संगठन निर्माणमा केन्द्रित छौं ।