स्मार्ट लाइसेन्सको समस्या तत्कालै समाधान हुन्छ: यातायातमन्त्री मोहम्मद

होमल्याण्ड खबर

२०७९ श्रावण ३ गते, मंगलवार १४:३० मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन्। मंगलबार मन्त्रालयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकार भित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताएका हुन्।

स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने उनको भनाइ छ। मन्त्री राईले समितिको प्रतिवेदन आएपछि स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बिनीमा दुई र प्रदेश १ र मधेस प्रदेश लगायतका सबै प्रदेशमा एकएक स्थानमा गरी स्मार्ट लाइसेन्स छपाइ गर्ने बताए।

उनले भने, ‘म भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएर आएको १५ दिन भएको छ। मैले मन्त्रालयमा पदभार ग्रहण गर्दा स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको औचित्यको विषयमा प्रतिवेदन आज वा भोलि आउँछ। स्मार्ट लाइसेन्सको समस्या तत्कालै समाधान हुन्छ। इम्बोस्ड नम्बर प्लेटको एक दुई दिनमा नै सुखत समाचार सुन्न पाउनु हुनेछ।’

मन्त्री राईले काठमाडौँ महानगरपालिका क्षेत्राधिकार भित्रका सडकलाई अब बन्ने ऐनमा महानगर मातहतमा नै रहने व्यवस्था गर्ने तयारी भएको जानकारी मेयर शाहलाई दिएको पनि बताए। उनले तत्कालका लागि काठमाडौँ उपत्यकाभित्र ४ सय किलोमिटर मन्त्रालयको क्षेत्राधिकार भित्र पर्ने भएकाले त्यसमा ढल निकासाको समस्या भए मन्त्रालयले तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएको पनि बताए।