प्रचण्ड साउन २१ गते जापान जाने

होमल्याण्ड खबर

२०७९ श्रावण १० गते, मंगलवार १४:११ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन्। उनी साउन २१ गते जापान भ्रमणमा जान लागेका हुन् । जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी साउन २१ गते जापान जान लागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पुष्टि गरेका छन् ।

‘अध्यक्ष जापान जाने तयारी भइरहेको छ। अहिले त नेपालीहरूको कार्यक्रममा जाने भन्नेछ। त्यहाँ कुनै राजनीतिक भेटघाट हुनेबारे परराष्ट्र मन्त्रालय र टोकियोस्थित नेपाली दूतावासबाट परामर्श भइरहेको छ,’ मल्लले भने। नेपाल र जापान सरकार वीचको दौत्य सम्वन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न र पर्यटन प्रवर्धनमा योगदान पुरयाउनका लागि आवश्यक पहल गर्न भन्दै प्रचण्ड जापान भ्रमणमा जान लागेका हुन् ।

उनको भ्रमण ५ दिनको हुनेछ । नेपाली जनप्रगतिशिल मञ्च जापानले आयोजना गर्ने समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार विषयक कार्यक्रममा पनि प्रचण्डले सम्वोधन गर्ने जनप्रगतिशिल मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

साउन २२ गते उक्त कार्यक्रम जापानको टोकियोमा रहेको खामेइदो कल्चर सेन्टरमा हुनेछ । जापान भ्रमणका क्रममा उनको जापानको सरकारी उच्चस्तरीय अधिकारीसँग पनि भेटघाट र छलफल हुनेछ । प्रचण्ड ४ सदस्यीय टोलीको नेतृत्व गदै त्यहाँ जानेछन् । प्रचण्डसँगै उनका स्वकिय सचिव रमेश मल्ल, छोरी समेत रहेकी स्वकिय सचिव गंगा दाहाल र नारायणप्रसाद ढुंगाना भ्रमण दलमा हुनेछन् । प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमण गरेका थिए । उनलाई चीनका राष्ट्रपतिको पनि भ्रमण निम्तो छ । भारत भ्रमणकै बेला प्रचण्डले आफु चीन पनि जाने बताएका थिए ।