गण्डक ब्यारेजका सबै ढोका खोलियो

होमल्याण्ड खबर

२०७९ श्रावण १७ गते, मंगलवार १६:४८ मा प्रकाशित

लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् ।

स्थानीय प्रशासनका अनुसार सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको हो ।

बाढीमापन केन्द्रकाअनुसार अहिले नारायणीमा पानीको सतह सात दशमलब एक मिटर रहेको जनाएको छ । नारायणीमा पानीको सतह सात दशमलब तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तहको रुपमा लिइन्छ ।

नारायणीमा पानीको सतह बढेसँगै नवलपुर तथा चितवनका नदी तटीय क्षेत्रका बस्तीहरु जोखिममा पर्ने गरेका छन् ।

त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर भारतले सिँचाइका लागि पानी लैजाने गरेको छ ।