सिके राउत उपेन्द्र यादवको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने

होमल्याण्ड खबर

२०७९ श्रावण २० गते, शुक्रबार १३:११ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिँदै यादवकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी थालेका छन् । सप्तरीको क्षेत्र नं २ बाट राउतले उम्मेदवारी दिने बताएका छन् । यसअघि २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट उपेन्द्र यादवले चुनाव जितेका थिए । राउतको घर पनि सोही क्षेत्रमा रहेकाले उनी त्यहीबाट आगामी संसदीय निर्वाचनमा उठ्ने स्रोतको भनाइ छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा भने उपेन्द्रको पार्टी जसपाले उक्त क्षेत्रमा हार व्यहोरेको थियो । जनमत पार्टीले नै उक्त क्षेत्रमा आफ्नो पकड जमाएको बुझिन्छ, स्थानीय निर्वाचनमा समेत उक्त क्षेत्रमा जनमतले सम्मानजनक मत ल्याएको थियो ।

स्थानीय निर्वाचनमा सिके राउतको घर रहेको सप्तरीको महादेवा गाउँपालिका– २ को वडाध्यक्ष र सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका तथा बलानबिहुल गाउँपालिकाको प्रमुख पदमा समेत जनमत पार्टीले नै जितेको छ । हनुमाननगर कंकालिनीमा जसपा र बलानबिहुल गाउँपालिकामा कांग्रेसलाई हराएर जनमतले जित हात पारेको थियो ।