१० मंसिर २०८१, सोमबार
नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा मासिक ८० करोड रुपैयाँ घाटा छ । अन्तर्राीष्ट्रय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गएपछि निगमको घाटा बढेर ८० करोड रुपैयाँ पुगेको हो ।
निगमलाई ग्यासमा घाटा बढेर प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ पुगेको छ । यसअघि २ सय ८० रुपैयाँ घाटा थियो । लगातार मूल्य बढ्दै गएपछि निगमले सबैभन्दा धेरै घाटा ग्यासमा बेहोर्नु परेको हो । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ५१ रुपैयाँ बढेर आएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले ग्यासमा घाटा बढेर प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ पुगेको बताए । प्रतिसिलिन्डरमा ३ सय ३१ रुपैयाँ घाटा भएकाले ग्यासमा मासिक घाटा बढेर ८० करोड रुपैयाँ पुगेको उनको भनाइ छ ।
निगमलाई मट्टितेल र हवाई इन्धन बाहेक सबै पेट्रोलियम पदार्थमा घाटा छ । अन्तर्राीष्ट्रय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै डलरको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो ।
आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ११ पैसा घाटा भएको छ । १५ दिनमा पेट्रोलतर्फ मात्रै २ करोड ३९ लाख रुपैयाँ घाटा भएको छ । यस्तै डिजेलमा प्रतिलिटर २ रुपैयाँ ८४ पैसा घाटा छ । डिजेलतर्फ पनि १५ दिनमा १९ करोड ३२ लाखको घाटा भएको निगमको भनाइ छ । निगमलाई मट्टीतेल र हवाई इन्धनको कारोबारमा भने फाइदा छ । १५ दिनमा मट्टीतेलमा १ करोड ८१ लाख र हवाई इन्धनमा २७ करोड ९० लाख रुपैयाँ नाफा भएको छ ।
पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको हो । यसका साथै अन्तर्राीष्ट्रय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा निगमलाई थप असर परेको हो ।
हाल अन्तर्राीष्ट्रय बजारमा इन्धनको मूल्य निकै बढेको छ । करिब तीन साताअघि प्रतिब्यारल कच्चा इन्धनको मूल्य ७३÷७४ डलर थियो । विश्व परिवेशमै भएको इन्धन राजनीतिका कारण हाल मूल्यवृद्धि भएर प्रतिब्यारेल ७७ डलर पुगेको छ । प्रतिब्यारेलमै पछिल्लो समयमा तीन डलरले मूल्य वृद्धि भएको छ । निगमका कच्चा तेलको मूल्य प्रतिब्यारेलमा तीन डलरले मूल्यवृद्धि हुँदा निगमलाई ठूलो घाटा भएको हो । पछिल्लो समय निगमको घाटा ६४ करोड पुगेको छ ।
अमेरिकाले अन्य मुलुकलाई पनि इरानसँग आर्थिक कारोबार नगर्न दबाब दिएको छ । यसले गर्दा इरानको इन्धन विश्व बजारमा आउन पाएको छैन । यस्तै भेनेजुयला र लिवियाले उत्पादन गर्ने इन्धन पनि पर्याप्त परिमाणमा बजारमा आउन नसक्दा इन्धनको अन्तर्रा्ष्ट्रिय बजारमा मूल्यवृद्धि भएको हो ।