आगामी निर्वाचनमा गठबन्धन नगरौं : सिर्जना सिंह

होमल्याण्ड खबर

२०७९ श्रावण २५ गते, बुधबार १६:१८ मा प्रकाशित

काठमाडौं महानगरपालिकाकी मेयर पदकी उम्मेदवार कांग्रेस नेता सिर्जना सिंहले आगामी निर्वाचनमा गठबन्धन नगर्नु राम्रो हुने बताएकी छिन् ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी उनले बुधबार सामाजिक सञ्जालमार्फत् आउँदै गरेको स‌ंसदीय चुनावमा दलहरुले आ-आफ्नै पार्टी र चुनाव चिन्हबाट गठबन्धन नगरी उम्मेदवारी दिनु उपयुक्त हुने बताएकी हुन् ।

सत्ता गठबन्धनको नेतृत्वमा रहेको दल नेपाली कांग्रेसले यसअघि केन्द्रीय समिति बैठकबाटै गठबन्धन गरेर चुनावमा जाने निर्णय गरिसकेको छ भने नेता प्रकाशमान सिंह गठबन्धनबाटै उम्मेदवार बन्ने दौडधुपमा छन् । तर काठमाडौं महानगरपालिकाको मेयरमा गठबन्धनबाटै उम्मेदवार बनेकी सिर्जनाले भने फरक धारणा राखेकी हुन् ।

‘राजनीतिक कुरा गर्न मन लाग्यो, आउँदै गरेको संसदीय चुनावमा आ-आफ्नो पार्टी आफ्नै चूनाव चिन्ह र गठबन्धन नगरी सबैले आ-आफ्ना उम्मेदवार उठाऔँ । बरू बहुमत नआए गठवन्धन गर्दा हुन्छ,’ उनले ट्विटरमा लेखेकी छिन्, ‘स्थानीय चुनावमा देखेको भोगेको गठबन्धनले अन्यौल र अस्तव्यस्तबाहेक केही गर्दैन ।’