३ चैत्र २०८२, मंगलवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । अध्यक्ष भट्टराईले आउँदो संघीय संसद र प्रदेश सभाको निर्वाचनमा एउटै मोर्चा बनाएर जाने प्रस्ताव माओवादी केन्द्रका नेताहरुसामु राखेका छन् ।
प्रचण्डका भान्जा गोकुल भण्डारीको निवास, हात्तीवनमा भएको सो भेटमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी रहेको बताइएको छ । चुनावमा एउटै मोर्चा बनाएर र एकै चुनाव चिह्न लिएर जानेबारे बाबुरामको प्रस्तावमाथि छलफल हुनुका साथै गठबन्धन र पार्टी एकताका विषयमा समेत छलफल भएको स्रोतको भनाइ छ ।


करिब एक घण्टासम्म भएको छलफलमा चुनाव र एकता केन्द्रित कुराकानी भए पनि कुनै निष्कर्ष भने ननिस्किएको जनाइएको छ । बाबुरामले आफ्नो नव गठित पार्टी नेसपालाई सत्ता गठबन्धनमा सामेल गराउने चुनावमा तालमेल गरेर जाने प्रस्ताव राखेका थिए । सो प्रस्तावमा प्रचण्ड सकारात्मक देखिएको बताइएको छ । अध्यक्ष प्रचण्डले पछिल्लो समय माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी र उेन्द्र यावदको जनता समाजवादी पार्टीलाई साथमा लिएर समाजवादी मोर्चा बनाउन कसरत गरिरहेका छन् । सो मोर्चामा बाबुरामको नेसपालाई पनि समावेश गराउनेबारे भेटमा कुराकानी भएको र थप भेटहरु गर्दै छलफल अघि बढाउन नेताहरु सकारात्मक रहेको बताइन्छ ।