दर्ता भएको चार वर्षपछि बीमा विधेयक पारित गर्ने तयारी

होमल्याण्ड खबर

२०७९ श्रावण २९ गते, आईतवार ११:१८ मा प्रकाशित

प्रतिनिधिसभा बैठकको आजको कार्यसूचीमा बीमा विधेयक पारित गर्ने लगायत रहेका छन् । करिब चार वर्षअघि संघीय संसदमा दर्ता भएको बीमा विधेयक बल्ल पारित गर्ने तयारी थालिएको हो ।

आज बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ पारित गर्ने संसद सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ । वि.सं. २०७५ असार २७ गते उक्त विधेयक दर्ता भएको थियो । यसका साथै आज सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि पनि छलफल हुने र सम्भवतः आजै पारित हुने जनाइएको छ ।

यसैगरी आजको सम्भावित कार्यसूचीमा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने उल्लेख छ । साथै काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची समेत सचिवालयले सार्वजनिक गरेको छ ।