जनमतको अवमूल्यन गर्नेले परमादेशको कुरा गर्नु गलत : प्रकाशमान

होमल्याण्ड खबर

२०७९ श्रावण २९ गते, आईतवार १२:११ मा प्रकाशित

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जनमतको अवमूल्यन गर्नेले परमादेशको कुरा गर्नु गलत भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई कटाक्ष गर्दै उनले यसो बताएका हुन् ।

‘जनताले दिएको त्यत्रो दुईतिहाई जनादेशको अवमूल्यन गर्नेले अहिले परमादेशको सरकार भनेर कुरा गर्नु गलत हो,’ आज काठमाडौं क्षेत्र नम्बर–१ को कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिष्ट सरकारको नाकामीको जिम्मेवारी अहिले कांग्रेसको काँधमा आएको हो । कांग्रेस जिम्मेवारीबाट भाग्न मिल्दैन् ।’ कम्युनिष्टले चलाउन नसकेको देश कांग्रेसले अगाडि बढाइरहेको उनले बताए ।

अर्को प्रशंगमा नेता सिंहले कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियानका एजेण्डा जनतामा लिएर जानुपर्ने बताए । उनले भने,‘राजनीतिक परिवर्तन आइसकेको अवस्थमा अब जनताले अनुभुत गर्नेगरी आमनागरिको जीवन सहज हुने किसिमका आर्थिक सम्पन्नताका मुद्दा लिएर जनतामा जानुपर्छ ।’

नेता सिंहले कांग्रेसले विगतमा गरेका कामको प्रचार–प्रसार नगरेर क्षती ब्यहोरिरहेको पनि बताए । ‘यतिका परिवर्तनको नेतृत्व गरेको पार्टी जसका विषयमा जनतालाई अनुभूत गर्नेगरी अब छलफल चलाउनुपर्छ,’ उनले भने ।