एमालेले २० भदौभित्र संघ र प्रदेशका उम्मेदवारकाे सिफारिस टुंग्याउने

होमल्याण्ड खबर

२०७९ भाद्र ८ गते, बुधबार १२:३९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २० गतेभित्रै संघ र प्रदेशका उम्मेदवारको छनाेटका लागि सिफारिस प्रक्रिया टुंग्याउने भएकाे छ । एमालेले निर्वाचनको तयारी पनि यसैअनुसार अगाडि बढाएकाे छ ।

२० भदौभित्र निर्वाचन क्षेत्र, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले संघीय संसद् र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कमिटीमा पठाइसक्नुपर्ने गरी उम्मेदवार छनोटको मापदण्ड र प्रक्रियासम्बन्धी प्रस्ताव मंगलबारको स्थायी समिति बैठकमा प्रस्तुत भएको हो ।

‘आ–आफ्नो क्षेत्रबाट सिफारिस गर्नुपर्ने उम्मेदवारहरूको नामावली सबै कमिटीहरूले २० भदौभित्र केन्द्रीय कमिटीमा पठाइसक्नुपर्ने प्रस्ताव बैठकमा प्रस्तुत भएको छ,’ स्थायी समितिका एक सदस्यले नयाँ पत्रिकासँग भने ।

१० र ११ भदौमा केन्द्रीय कमिटी बैठक सकिएलगत्तै जिल्लाहरूमा उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने एमालेको तयारी छ । स्थानीय तहका लागि प्रस्तुत मापदण्ड र प्रक्रियाभित्रैबाट उम्मेदवार छनाेट टुंग्याइने ती सदस्यले बताए ।