मतपत्र छाप्ने कागज खरिदकाे ठेक्का नवदुर्गालाई

होमल्याण्ड खबर

२०७९ भाद्र १५ गते, बुधबार १४:०२ मा प्रकाशित

निर्वाचन आयोगले आगामी मंसिर ४ मा निर्वाचनका लागि मतपत्र छपाइका कागज खरिद गर्न थापाथलीस्थित नवदुर्गा ट्रेडिङ कन्सर्नलाई ठक्का दिएको छ ।

निर्वाचनको तिव्र तयारीमा जुटेको आयोगले मतपेटिका, मतपत्र र अन्य निर्वाचनमा आवश्यक पर्ने सामग्री खरिदका लागि विभिन्न कम्पनीहरुलाई ठेक्का दिँदै आएको छ । सोक्रममा बधुबार आयोगले मतपत्रका लागि कागज खरिदको जिम्मा नवदुर्गा ट्रेडिङ कन्सर्नलाई दिएको हो । एक सूचना जारी गर्दै आयोगले बोलपत्र स्वीकृत भएको जानकारी गराएको छ ।

निर्वाचन आयोगले मतपत्रको कागज खरिद गर्न आह्वान भएको बोलपत्रमा १३ भदौभित्र दर्ता हुन आएका बोलपत्रमध्ये नवदुर्गालाई सो ठेक्का दिएको जानकारी गराएको हो । मूल्य अभिवृद्धि करसमेत राखेर १६ करोड ३२ लाख ७८ हजार २ सय ७६ मा कबोल भएको आयोगले जनाएको छ ।

बोलपत्र दाताले कार्य सम्पादन जमानत र मतपत्र छपाइ गर्ने कागज २० दिनभित्र आपूर्ति गर्न सक्ने आधार र प्रमाण सहितको विस्तृत कार्यतालिका पेस गर्न आयोगले आग्रह गरेको छ ।