सडक दुर्घटनामा बिते टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्री

होमल्याण्ड खबर

२०७९ भाद्र २० गते, सोमबार ११:२९ मा प्रकाशित

भारतको व्यापारिक कम्पनी टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी निधन भएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार गुजरातको अहमदावादबाट मुम्बई आउँदै गरेका मिस्त्री सडक दुर्घटनामा परेका हुन्। उनी चढेको मर्सिडिज कार आइतबार दिउँसो सडकको डिभाइडरमा ठोक्किएको थियो। कारमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। दुर्घटनापछि अस्पताल पुर्‍याइएका मिस्त्रीलाई डाक्टरले मृत घोषणा गरेका थिए।

मिस्त्री सन् २०१२ देखि २०१६ सम्म टाटा सन्सका अध्यक्ष बनेका थिए। अहिले पनि टाटा सन्सको सबैभन्दा धेरै सेयर मिस्त्री परिवारसँग छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिस्त्रीको निधनमा गहिरो दुस्ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा मोदीले मिस्त्रीको निधन भारतीय व्यापार तथा उद्योग क्षेत्रका लागि ठूलो नोक्सान भएको बताएका छन्।