मन्त्रीलाई रोक्ने सुरक्षा गार्डलाई पाँच दिन थुनामा राखिने

होमल्याण्ड खबर

२०७९ भाद्र २० गते, सोमबार १३:३३ मा प्रकाशित

पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्न’ निर्देशन दिँदा भनाभनपछि पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई पाँच दिन थुनामा राखिने भएको छ ।गरुङ सेक्युरिटिजका गुरुङ ठमेलमा रहेको छाया सेन्टरस्थित भीएफएसको सुरक्षा गार्डमा कार्यरत थिए । मन्त्री श्रेष्ठ क्यानडाको भिसाका लागि सो स्थानमा पुगेका थिए ।

त्यहाँ रहेका गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न भनेपछि भनाभन भएको स्रोतले जानकारी दिएको छ। त्यसपछि मन्त्रीका सुरक्षा गार्डले प्रहरीलाई खबर गरी पक्राउ गराएका थिए।पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राखिने भएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धमा जाहेरी दर्ता भएको छ। यता मन्त्री श्रेष्ठले भने सेक्युरिटि गार्डको व्यवहार नै रुखो र मन्त्री भन्ने जानेपछि दुर्व्यवहारको प्रयास गरेको बताएका छन्। उनले सोमबार बिहान पनि सामाजिक सञ्जालमार्फत् मन्त्री र नेता नै खराब हुन् भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।

“छायाँ सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिक्रियामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पब्लिकको प्रतिक्रिया स्वाभाविक छ तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटिमाथि दुर्व्यवहार गरिएकाले सेक्युरिटिले आफ्नो निकायष्मा जानकारी गराएको हो । घटनाबारे सत्य तथ्य बुझेरमात्रै प्रतिक्रिया दिन र सबै नेतारमन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु,” उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।