३ चैत्र २०८२, मंगलवार
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक नागरिकता समस्या समाधान गर्न नभई पाँच दलीय गठबन्धनले तराई–मधेशमा एमाले नागरिकता विरोधी हो भनी भ्रम छर्न ल्याएको बताएका छन् । ओलीले एमालेमा प्रवेश गरेका जनता समाजवादी पार्टीका सांसद तथा नेताहरूलाई पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा स्वागत गर्दै गठबन्धनमा रहेका दलहरूले एमालेका विरुद्धमा भ्रम छर्न सक्ने हुँदा तराई–मधेशका नेताकार्यकर्ताहरूले भ्रम चिर्ने काम गर्नुपर्ने बताए।
एमालेले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्छ भन्ने मान्यता राख्ने स्पष्ट गर्दै त्यसका लागि यसै संसदबाट नागरिकता विधेयक संशोधन गर्ने हो भने अझै पनि समय रहेको अध्यक्ष ओलीले बताए। गठबन्धन सरकारलाई नागरिकताको समस्या समाधान गर्नुछैन भन्दै अध्यक्ष ओलीले यदी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने नै हो भने संसदमा दुईलाइनको संशोधन ल्याउनु, यसै संसदबाट पास गर्न सकिन्छ भने ।


उनले आफ्नो नेतृत्वको सरकारका पालामा अध्यादेशमार्फत उक्त व्यवस्था गरी नागरिकता वितरण भइरहेको समयमा अदालतबाट नागरिकता वितरण रोक्न आदेश गराइएको स्मरण गर्दै त्यो बेला नरोकिएको भए समस्या समाधान भइसक्थ्यो भने।
ओलीले गठबन्धनले ल्याएको नागरिकता विधेयकमा राष्ट्रपतिले केही विषयमा पुनर्विचार गर्न भनी संसदमा फिर्ता पठाउँदा विधेयक संसदमा नपुग्दै संविधानले नचिन्नेहरू भेला भएर ‘बाउन्सर’ शैलीमा पुनर्विचार गर्दैनौं भनेका र तिनैमध्येका एकले अहिले राष्ट्रपतिले राजीनामा दिनुपर्ने भन्न थालेको बताए ।
उनले प्रश्न गरे– ‘दुुईतिहाईको आफ्नै दलको सरकार ढाल्ने, देश अधोगतितिर लैजाने, देश लुट्ने प्रतिगामी तत्वहरूले राजीनामा दिनु नपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने रु बहुमतका आधारमा भोलि जनतालाई जवाफ दिन नपर्ने ‘बाउन्सर’ खालको मान्छेलाई यो–यो काम गर्ने भनी करारनामा गराई कानुनमन्त्री बनाइएको र उसले जनताबाट निर्वाचित जनप्रतिनिधिलाई पाठ सिकाउँदै गरेको अध्यक्ष ओलीको भनाई थियो ।