३ चैत्र २०८२, मंगलवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भएमा २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने बताएका छन् ।
बिहीबार राजधानीमा पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक व्यवस्थापनमा सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए ।
उनले व्यक्तिगत हितलाई भन्दा पनि पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र कम्युनिस्टहरुमध्ये पहिलो शक्ति बन्ने दाबी गरे ।
‘माओवादी कमजोर भयो भने, माओवादी र जनताको सम्बन्ध सुमधुर हुन सकेन भने प्राप्त उपलब्धि उल्ट्याउन षड्यन्त्र हुन्छ’ उनले भने, ‘जनमत माओवादीकै पक्षमा भए पनि आन्तरिक व्यवस्थापन गर्न नसक्दा तराई मधेसमा स्थानीय तह निर्वाचनका क्रममा अपेक्षाअनुसार उपलब्धि गर्न सकिएन् ।’
विधिसम्मत र प्रक्रियागत ढंगले उम्मेदवार खडा गरिसकेपछि त्यस्तो उम्मेदवारलाई व्यक्तिको रुपमा नहेरेर पार्टीको रुपमा हेर्ने हो भने माओवादीको जितलाई कसैले रोक्न नसक्ने उनले प्रस्ट पारे । उनले भने, ‘सवाल पार्टीलाई जिताउने कि हराउने भन्ने हो, कुनै अमुक व्यक्तिलाई हराउने या जिताउने भन्ने होइन ।’

