एमालेले नयाँ अनुहारलाई प्राथमिकता दिने, पुरानालाई बाईबाई गर्ने

होमल्याण्ड खबर

२०७९ आश्विन ३ गते, सोमबार ११:५७ मा प्रकाशित

नेकपा एमाले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाउने क्रममा धेरै भन्दा धेरै नयाँ अनुहारलाई प्राथमिकता दिएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाउने क्रममा नयाँ अनुहारलाई प्राथमिकता दिएको स्रोतले जनाएको छ ।

‘करिब करिब २०६४ सालपछि अवसर पाएकालाई अहिले अवसर दिइएको छैन पार्टी सबैको हो भन्ने आभाष दिन खोजिएको छ’, एक सचिवालय सदस्यले भने । उनका अनुसार पार्टीमा मेहनत गरेका धेरै नेताहरुलाई यसपटक जोड गरिएको छ । यसैगरी अर्को पार्टी छाडेर आएका नेताहरुलाई पनि राखिएको छ । धेरै जसो महिलाहरुलाई पनि समावेश गरिएको स्रोतले जनाएको छ । ‘केन्द्रीय सदस्यहरु प्रत्यक्षमा चुनाव लड्न आकांक्षा देखाएकाले उहाँहरुलाई समानुपातिकमा राखिएको छैन तर जनजाती, महिला, दलित सबै प्रकारको क्लष्टरलाई ध्यान दिइएको छ’, स्रोतले भन्यो ।
सचिवालय बैठकपछि एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिएका थिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको उनले जानकारी दिए ।

११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला हुने उनले जानकारी दिए । गुरुङका अनुसार प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना, मधेश प्रदेशमा २३ जना महिला नघट्ने गरि ४३ जना, बागमती महिला २४ जना नघट्ने गरि ४४ जना, गण्डकीमा १३ महिला नघट्ने गरि २४ जना, लुम्बिनीमा २० महिला नघट्ने गरि ३५ जना कर्णालीमा ८ महिला नघट्ने गरि १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरि २१ जनाको नाम तयार गरिएको उनले जानकारी दिए ।
बैठकमा भरसक एउटा जिल्ला र क्षेत्र नछुटाउने गरी समानुपातिकको सूची तयार पारिएको छ ।

सबै सूची तयार भएपछि एकपटक एमाले अध्यक्ष केपी शर्मा ओलीले पुन हेरफेर गर्नसक्ने अधिकार पनि दिइएको छ । ‘सकेसम्म हेरफेर हुँदैन भएमा केही नेताहरु बाहिर बस्नुहुनेछ उहाँहरुको स्थानमा अन्य दलहरुबाट आएकालाई प्राथमिकता दिइनेछ’, एमालेका एक सचिवलाय सदस्यले भने ।