२८ बैशाख २०८३, सोमबार
सरकारले चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिनेगरी समिति गठन गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो ।


शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका सडक दुर्घटना तत्काल न्यूनीकरणका लागि आवश्यक निर्देशनसमेत दिन सक्नेगरी समिति बनाउनु पर्ने प्रस्ताव गरेका थिए । देउवाले चाडपर्वमा नागरिक सहज तरिकाले आफ्नो घरसम्म पुग्न सक्नेगरी यातायातको व्यवस्थापन हुनुपर्ने बताएका थिए ।
त्यसपछि मन्त्रिपरिषद्ले गृह प्रवक्ता पोखरेलको संयोजकत्वमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको हो ।
समितिले सडक दुर्घटना न्यूनीकरणका लागि के गर्नुपर्छ ? सार्वजनिक यातायातको व्यवस्थापन कसरी गर्ने ? आम नागरिकलाई शहरबाट गाउँसम्म कसरी सुरक्षित रूपमा पुराउने भन्नेबारेमा अध्ययन गरी सम्बन्धित निकायलाई कार्यान्वयन गर्न निर्देशन दिनेछ ।