३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् ।
आईतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्ता बताएका हुन् । नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताए । उनले निर्वाचनपछि केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्ने जनताले महसुस हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए । आगामी निर्वाचनपछिको सरकारले देशमा सुशासन कायम गर्ने उनले भनाइ राखे ।


‘संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने हो, काँग्रेसले मौका पायो भने संघीयतालाई कार्यान्वयन गरेर देखाउँछौँ,’ उनले भने, ‘केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्ने जनताले महशुस हुनेगरी काम गर्छौं । सुशासनको समस्यालाई हल गर्नेछौँ ।’
नेता सिंहले नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताए । उनले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताए । सिंहले १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले आगामी शैक्षिक नीतिमा विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउने कुरा समावेश हुने दाबी गरे । उनले नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्न जरुरी रहेको बताए ।