९ मंसिर २०८१, आईतवार
साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ। अहिले लगानीकर्ताहरूको मनोविज्ञान नै बजार घट्ने त हो भन्ने भइसकेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ विन्दुमा झरेको छ । नेप्से १.३० प्रतिशतले घटेको हो ।
यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले घटेर ३५५.६० विन्दुमा झरेको छ । कूल २२८ वटा कम्पनीको ४० लाख १४ हजार ४ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ । आइतबार लक्ष्मी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २६ करोड २ लाख ५७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरमा सकारात्मक सर्किट लागेको हो ।यस दिन तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.९० प्रतिशतले घटेर ३ सय ५२ रूपैयाँमा झरेको छ ।