६ दिने नाडा अटो शो को भब्य उद्घाटन

होमल्याण्ड खबर

२०७५ भाद्र २६ गते, मंगलवार १३:०२ मा प्रकाशित

१३ औं संस्करणको नाडा अटो शो भव्यपूर्वक उद्घाटन भएको छ । मंगलबार भृकुटीमण्डपमा विशेष समारोहको आयोजना गरी अटो शोको भब्य उद्घाटन भएको हो ।

शो को अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा  नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष चन्द्र ढकाल र नाडाका कार्यबाहक अध्यक्ष कृष्ण दुलाल लगायतको उस्थिति रहेको थियो ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा सुरु भएको नाडा सोमा सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा गराई नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार–प्रसार प्रवर्द्धन गर्नु यसको मुख्य उद्धेश्य रहेको बताइएको छ ।

नाडा अटो शोले आम सर्वसाधारणलाई सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउने साथै सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना एवं सडक सुरक्षा सम्बन्धी व्यापक जनचेतनाको अभिवृद्धि गर्ने प्रयासले निरन्तरता पाउने पनि आयोजकको दावी छ ।

यस वर्ष नाडा अटो शोमा ४ पाङ्ग्रे, २ पाङ्ग्रे र अटो कम्पोनेन्ट्सको अत्यधिक मागलाई ध्यानमा राखी यस वर्ष तीनवटा ह्याङ्गरहरु राखिएका छन् भने ठाउँको अभावले गर्दा हेभी कमर्शियल गाडीहरु प्रदर्शनमा राखिएका छैनन् ।

भदौ ३१ गतेसम्म चल्ने नाडा अटो शोमा १९ वटा ब्राण्डका ४ पाङ्ग्रे तथा २० वटा ब्राण्डका २ पाङ्ग्रे सवारी साधनहरु रहेका छन् ।

१३४ वटा ब्लक तथा स्टलहरु रहेको नाडा अटो शो २०१८ एउटा किनमेलको थलोमात्र नभई सूचनाको आदान–प्रदान, बजार विश्लेषण तथा समग्र नेपाली अटोमोबाइल व्यवसायको समष्टिगत विकासलाई प्रस्तुत गर्ने विश्वसनीय मञ्चसमेत बन्ने विश्वास आयोजकले गरेको छ ।

यस वर्ष प्रवेश टिकटमा प्रत्येक दिन गोलाप्रथाद्धारा भाग्यशाली विजेतालाई जय माँ इन्टरकन्टिनेन्टल प्रालिले प्रायोजित गरेको कुलप्याड मेगा २।५ डी प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ ।

मेलामा झण्डै ६० हजार आगन्तुकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजकको छ ।