काठमाडौं उपत्यकामा कांग्रेसले पायो ९ सिट, बाँकी क्षेत्रमा यस्तो छ सहमति

होमल्याण्ड खबर

२०७९ आश्विन १३ गते, बिहीबार १६:३७ मा प्रकाशित

काठमाडौं उपत्यकाका १५ सिटमध्ये नेपाली कांग्रेसले ९ सिट पाउने पक्कापक्की भएको छ ।

काठमाडौंका १० निर्वाचन क्षेत्र, ललितपुर ३ र भक्तपुर २ गरी उपत्यकामा १५ सिट रहेका छन् । काठमाडौं उपत्यकामा कम्तिमा ११ सिटमा कांग्रेसको बलियो दावी थियो तर बुधबार राति भएको सहमति अनुसार कांग्रेस ९ सिटमा लचक बनेको छ ।

नेताहरुका अनुसार काठमाडौंमा कांग्रेसले निर्वाचन क्षेत्र १,३, ४, ५, ६ र १० पाएको छ । कांग्रेसले काठमाडौं क्षेत्र नं। ९ मा पनि अडान कायमै राखेको छ । तर माओवादी केन्द्रले पनि आफ्नो दावी छोडेको छैन ।

माओवादीले काठमाडौं–२ पाउने पक्कापक्क भएको छ भने काठमाडौं–९ पनि माओवादीकै भागमा जाने सम्भावना बढि रहेको सिट बाँडफाँट कार्यदलमा रहेका एक नेताले बताए । त्यस्तै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले काठमाडौं–८ पाएको छ भने अर्को सत्तारुढ दल जनता समाजवादी पार्टीले काठमाडौं–७ पाएको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको ललितपृुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एकरएक सिट पाएका छन् ।

कांग्रेसले ललितपुर–१, एकीकृत समाजवादीले २ र माओवादी केन्द्रले ललितपुर–३ निर्वाचन क्षेत्र पाएको छ । भक्तपुरका दुबै निर्वाचन क्षेत्रमा कांग्रेसले गठबन्धनकातर्फबाट साझा उम्मेदवार उठाउने सहमति दलहरुबीच भएको छ ।