दोस्रो चरणको मतपत्र आजदेखि ढुवानी

होमल्याण्ड खबर

२०७९ कार्तिक ३ गते, बिहीबार १२:२२ मा प्रकाशित

निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ दोस्रो चरणको मतपत्र ढुवानी शुरु गर्ने भएको छ।

पहिलो चरणमा प्रदेश १, मधेस र बागमती प्रदेशमा मतपत्र ढुवानी गरेको आयोगले आज कर्णालीलगायत प्रदेशका विभिन्न जिल्लामा मत पत्र पठाउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ।

यसबाहेक आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ। आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ।

आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका लागि पनि हिजोसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न गरिएको जनाएको छ। छापिएका मध्ये प्रतिनिधिसभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार रहेका छन्।