आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरु समक्ष प्रचण्डको आग्रह

होमल्याण्ड खबर

२०७९ कार्तिक ४ गते, शुक्रबार १३:४१ मा प्रकाशित

शुक्रबार काठमाडौंमा भएको वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरु समक्ष आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखापरेको बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरीतिर फेरि धकेल्ने कसरतहरु गरिरहेको बताए ।

प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष दाहालले देशमा पश्चगमन र अग्रगमन दुईवटा विचार र प्रवृत्ति देखापरेको बताए । आगामी निर्वाचन देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्ने भन्दै दाहालले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे । गठबन्धन विरोधी विभिन्न प्रचार भएको भन्दै गठबन्धन यसपटक मात्रै भएको झैँ नबुझ्न आग्रह गरे ।

‘केही समयदेखि नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखा परे । संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरीतिर फेरि धकेल्ने कसरतहरु भए । त्यो प्रवृत्ति, विचारका विरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो ।

अहिले दुईवटा विचार, प्रवृत्ति आमनेसामने भएका छन् । एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर  एउटा संविधान मास्नेतिर, अर्को संविधानको रक्षा गर्नेतिर । एउटा लोकतन्त्रका विरुद्ध अर्को लोकतन्त्रका पक्षमा’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘त्यसकारण ४ गतेको निर्वाचन सामान्य छैन । देशले जित्ने हो कि होइन, संविधानले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर हो मंसिर ४ गतेको निर्वाचन ।’

अध्यक्ष दाहालले काठमाडौं क्षेत्र नम्बर ७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमीभट्टराई लगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे ।