जित पक्का छ, गोरखाका मतदातामा ठूलो उत्साह देखेको छु: प्रचण्ड

होमल्याण्ड खबर

२०७९ कार्तिक १४ गते, सोमबार १६:४४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर दुई बाट आफ्नो जित पक्का भएको दाबी गरेका छन्। पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै प्रचण्डले आर्थिक समृद्धिको नयाँ क्रान्ति फेरि सुरु गर्न आफू गोरखा गएको बताए।

‘हिजो र अस्ति दुई दिनसम्म ४४ वटा सानासान भेटघाट कार्यक्रम सम्पन्न भए, जनतामा निकै ठूलो उत्साह देखेको छु मैले’, प्रचण्डले थपे, ‘निर्वाचन परिणाम त जनताको उत्साह देखेपछि त्यो सुनिश्चित छ भन्ने कुरामा द्विविधा नै छैन।’

आफू हार जितको हिसाब गरेर नभई जनक्रान्तिको तयारी र सुरुवात गरेको ठाउँ भएकाले गोरखा पुगेको स्पष्ट पारे। घोषणापत्रमा २०७४ सालकै कुरा दोहोरिए नि? भन्ने पत्रकारको प्रश्नमा उनले त्यतिबेला आफूहरुले घोषणापत्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे पनि कार्यान्वयनमा भूमिका नपाएको बताए।उनले माओवादी केन्द्रका एजेण्डा कार्यान्वयन गर्न गठबन्धनसँग पनि कुरा गर्ने बताए।

‘घोषणापत्र बनाउनेमा त्यतिबेला हाम्रो महत्वपूर्ण भूमिका रह्यो तर सरकारमा भूमिका भएन। कार्यान्वयनमा लैजान सकिएन । हाम्रा पनि केही कमीकमजोरी भए। त्यसको पनि केही हिस्सा हामीले लिनुपर्छ’ प्रचण्डले भने, ‘२०७४ र अहिले के फरक छ भने त्यतिबेला हामी कार्यान्वयन गर्ने ठाउँमा भएनौं । अहिले हामी आफैंले कार्यान्वयन गर्ने ठाउँमा छौं भन्ने विश्वास गरेका छौं।’