प्रतिगामीलाई पराजित नगरे संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतराः बाबुराम

होमल्याण्ड खबर

२०७९ कार्तिक १७ गते, बिहीबार १४:१५ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकालै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे।

उनले जनताका आकंक्षाहरु दिनप्रतिदिन बढिरहेकाले त्यसलाई पूरा गर्न गठबन्धन बनेको दाबी गरे। अध्यक्ष भट्टराईले मंसिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिने उल्लेख गरे। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नबसेको उल्लेख गर्दै आफूले माओवादीसँग सहकार्य गरिरहेको बताए।

उनले लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नगडेसम्म र विकास र समृद्धिको न्यूनतम आधार तयार नभएसम्म माओवादीहरू मिलेर सहकार्य गर्नुको विकल्प नरहेको बताए।

अध्यक्ष भट्टराईले आफ्नो लक्ष्य नेपालीको विकास, समृद्धि र खुसियाली भएको दाबी गरे। समृद्धि र विकासको काममा पनि गोरखाले नै अग्रणी भूमिका खेल्ने बताए।