४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकादशीको दिन बिहान चाबहिल गणेशस्थानमा पूजा गरेर काठमाडौं क्षेत्र नम्बर ४ मा आफ्नो चुनावी प्रचार सुरु गरेका छन् । गणेश मन्दिरमा भेला भएका नेता कार्यकर्तासँगै उनी घरदैलोमा निस्किएका हुन् ।
घरदैलो सुरु भएको केही बेरमै गणेस्थानबाट ओरालो लाग्दै गर्दा एक वृद्ध दम्पतीले उनलाई जीतको शुभकामना दिए । उनका प्रचारकहरुले उनको खादा र माला निकाल्थे तर केही बेरमै पुनः माला र खादाले गला भरिन्थ्यो ।


उनको चुनावी र्यालीमा प्रदेशसभाका उम्मेदवार र अन्य समानुपातिकका उम्मेदवार समूह बनाएर निस्किएका छन्। बाटोमा भेटिएका मानिसहरुसँग थापा कहिले हात मिलाउँथे त कसैलाई नमस्कार गर्थे । उनको हात अधिकांश समय नमस्कार मुद्रामा देखिन्यो ।
प्रचारमा हिँडिरहँदा उनीसँग सेल्फी खिच्न आउनेको कमी थिएन । मंसिर ४ मा हुने चुनावमा जीत हासिल गर्ने आत्मविश्वास उनको अनुहारमा देखिन्थ्यो । थापा भने बाटोमा देखिएका र छेवैबाट जाने हरेक मानिसलाई अभिवादन गर्दै अघि बढिरहेका थिए ।