सन्दीप विरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

होमल्याण्ड खबर

२०७९ कार्तिक १८ गते, शुक्रबार १३:४० मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा थुनछेक बहस सकिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासमा थुनछेक बसह सकिएको हो। जिल्ला अदालत स्रोतका अनुसार अब केही बेरपछि आदेश आउनेछ।

शुक्रबार सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस सकेसँगै थुनछेक बहस सकिएको हो।जिल्ला न्यायाधिवक्ता कृष्ण भण्डारी र जाहेरवालाका कानुन व्यवसायी शान्ति रिजाल काफ्लेले जवाफी वहस गरेका थिए। अब अदालतले सन्दीपलाई तारेख वा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नेभन्ने आदेश गर्नेछ।

अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए उनलाई जेल चलान गरिनेछ। अदालतले उनलाई साधारण तारेख वा धरौटी लिएर तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न पनि भन्न सक्छ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। मंगलबार सन्दीपले अदालतमा बयान दिएका थिए भने बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो।