४ चैत्र २०८२, बुधबार
कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी आयोग अघि बढेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा आइतबार झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताए।


उनले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्व वा व्यक्तिलाई नियमसंगत कारबाही गरिने उल्लेख गरे। उनले सोही कारण पुनः मतदान हुन नदिने स्थिति सिर्जना गराउन आयोग जुटेको बताए।
कुनै पनि मतदाताले आफूलाई लोभ–लालच र धाकधम्कीका कारण मतदानमा अफ्ठ्यारो स्थिति सिर्जना गरियो भन्ने गुनासो आउन नदिने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको उनको भनाइ थियो।
प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइने बताउँदै सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणाष्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागि परेको बताए।