सुन्दरबजार नगरपालिकामा नमुना मतदान सम्पन्न, ८ प्रतिशत मत बदर

होमल्याण्ड खबर

२०७९ कार्तिक २४ गते, बिहीबार १३:२६ मा प्रकाशित

सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीमा जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान सम्पन्न गरेको छ । जिल्लाका आठबटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार सुन्दरबजार नगरपालिकामा भएको बताइएको छ ।

मतदानको क्रममा नगरपालिकाको वडा नं. ६ खत्रीठाँटीस्थित शान्ति निकेतन प्राथमिक विद्यालयको छेउछाउमा प्रहरीहरु राखिएका थिए । म्यादी प्रहरीहरुले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, सोहीअनुसारका सबै प्रक्रिया पूरा गरी नमुना गरिएको थियो। बीचभागमा मतपत्र खसाल्नको लागि बाकस थियो। लाइनमा केही मानिसहरुलाई राखेर मतदान गर्न लगाइएको थियो । पालैपालो उनीहरुले डोरी टाँगिएको लाइनको घेराबाट गएर मतपेटिकामा मत खसालेका थिए ।

नमुना मतदानमा मतदान कसरी गरिन्छ भन्ने समेत जानकारी गराइएको थियो । उक्त कार्यक्रममा मतदान प्रक्रियाको लागि ३४ जना महिला र ४१ जना पुरुष गरी ७५ जना सहभागी भएका थिए। उनीहरुले दिएका मतमध्ये ८ मत पूर्ण रूपमा बदर भएका थिए। मतदाताले विभिन्न चारबटा मतपत्रमा आफूले रोजेको चिन्हमा छाप लगाएर मतदान गरेका थिए । मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनावचिह्नमा मत दिन सिकाइएको थियो। मत बदर नहुने गरी मतपत्र पट्याउन समेत सिकाइएको थियो । यसैगरी निर्वाचनको क्रममा हुने समस्या र समाधानको उपायबारे समेत जानकारी दिनुका साथै अभ्यास गराइएको थियो ।

जिल्लाका आठबटै पालिकामा आज नमुना मतदान कार्यक्रम सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाले बताए। सापकोटाका अनुसार जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन्। जसमध्ये सुन्दरबजार नगरपालिकामा २९ मतदान केन्द्र रहेका छन् । जसमा २१ हजार १ सय ३८ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

लमजुङमा निर्वाचन सुरक्षार्थ दुई हजार तीन सय ७६ सुरक्षाकर्मी खटिँदै छन्। जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन्।