नेपालमै पहिलो पटक भोट हाल्दै कैदीबन्दी

होमल्याण्ड खबर

२०७९ कार्तिक २५ गते, शुक्रबार ११:३८ मा प्रकाशित

करागारमा रहेका कैदीबन्दीले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने भएका छन्। प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपालको संविधान २०७२ ले मतदान गर्न पाउने कानुनी व्यवस्था गरेको निर्वाचन आयोगले बताएको छ ।

देशभरीका ७४ वटै कारागारहरूमा अस्थायी मतदानस्थल राखिएको छ। त्यहाँ कम्तिमा ३ हजारको हाराहारीमा कैदीबन्दीले मतदान गर्नेछन्। तर, निर्वाचन कसूरमा सजाय पाइरहेका कैदीलाई भने मतदानमा रोक लगाइएको छ। देशैभर कम्तिमा २५ हजार ९ सय ६ कैदीबन्दी रहेको कारागार विभागको तथ्यांक छ।

देशभरीमा १ सय ४१ वटा अस्थायी मतदान केन्द्र रहने आयोगले जनाएको छ। निर्वाचन आयोगले करिब ५ लाख अस्थायी मतदाता नामावलीको विवरण तयार गरेको छ।

आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नमावलीमा नाम समावेश भएको मतदाताको मात्रै अस्थायी मतदाता नामावलीमा नाम समावेश गरिएको आयोगले जनाएको छ। मतदान केन्द्रमा ३ लाख कर्मचारी खटिँदै छन्।

मतदानमा नखटिने सुरक्षाकर्मी र कर्मचारीहरूको संख्या करिब १ लाख ४८ हजारको हाराहारीमा छ । झण्डै ५ लाख अस्थायी मतदाताले यसपटको निर्वाचनमा अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने सुविधा मिलाइको छ।