२८ बैशाख २०८३, सोमबार
निर्वाचन आयोगले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा चितवनको सौराहामा आयोजित ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले यस्तो आग्रह गरेका हुन् ।


मुख आयुक्त थपलियाले आयोगले मंसिर २५ गते दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सूक्ष्मरुपमा रिपोर्टिङ हुनुपर्ने बताए ।
उनले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिका सहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेका रहेकाले मंसिर १ गते साँझ सम्ममा सबै कर्मचारी र सामग्री मतदान स्थलमा पुगे नपुगेको विषयमा रिपोर्टिङ हुनुपर्ने र पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको स्पष्ट गरे ।
बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्नेमा सांसद्को भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासन दिइएको पाइएकाले निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको बताउँदै उनले निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारहरूको भएको बताए ।
उनले भने, ‘हामी सबैले आफ्नो इमानदारिता कायम गरौँ । निर्वाचन आचारसंहिताको कहीँकतै उल्लघंन नहोस्, उल्लघंनका समाचार बाहिर आउन् । नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्यबोध गराउने खालका समाचार प्रवाह होस्’ उनले भने, ‘पत्रकारहरूले आचारसंहिताको कति पालना गरेका छन्, त्यसको लेखाजोखा होस् । सबै दल र उम्मेदवारलाई समान पहुँच र स्थान दिइएको छ कि छैन भन्ने विषयलाई पनि आत्मसाथ गर्नुहोला ।’