योगेशले पठाए भेट्न नभ्याएका मतदातालाई चिट्ठी

होमल्याण्ड खबर

२०७९ कार्तिक २९ गते, मंगलवार १३:२७ मा प्रकाशित

मंसिर ४ को निर्वाचनका क्रममा भेट्न नभ्याएका मतदातालाई नेकपा एमाले सचिव योगेश भट्टराईले चिट्ठी पठाएर भोट मागेका छन् ।

निर्वाचनको घोषणादेखि नै उनी ताप्लेजुङमा घरदैलो र भेटघाटमा व्यस्त छन् । सत्तारुढ गठबन्धन कसिलो हुँदा चुनाव जित्न कठिन हुने विश्लेषणपछि गाउँ फर्केका भट्टराईले जिल्लाका अधिकांश गाउँमा पुगिसकेको बताएका छन् ।

‘योबीचमा हामी सम्भव भएसम्म सबैको घरदैलोमा पुग्ने कोसिस गर्‍यौं । तर, कतिपय मतदातासँग भेट्न अहिले सम्भव भएन । त्यसैले भेट नभएका मतदाताका नाममा चिट्ठी पठाएर आफ्नो कुरा राखेका छौँ,’ एमाले सचिव भट्टराईले भने, ‘अनुकूल समयमा भेट त भइहाल्छ । तैपनि अहिल्यै मतदाताको नाममा चिट्ठी पठाएका छौँ ।’

चिट्ठीमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराई, प्रदेशसभा १ का तिलकुमार मेन्याङ्बो र प्रदेशसभा २ का गोपाल थोप्राले हस्ताक्षर गरेका छन् ।