निर्वाचनपछि जनताले मलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेका छन्ः प्रकाशमान सिंह

होमल्याण्ड खबर

२०७९ कार्तिक ३० गते, बुधबार १०:५० मा प्रकाशित

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन् ।

बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएका हुन् । नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताएको जानकारी दिए । उनले आसन्न निर्वाचनमा जित हाँसिल गरेपनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको बताए । शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिनेपनि बताए ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रमा भएका सार्वजनिक जग्गाहरु अनाधिकृत रुपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्कहरु बनाउने बताए । नेता सिंहले संवैधानिक निकायहरुमा राजनीतिकरण हुनु नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने बताए ।