नेप्से परिसूचक २५.५७ अंकले बढ्यो

होमल्याण्ड खबर

२०७९ मंसिर १ गते, बिहीबार १५:५६ मा प्रकाशित

साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा वृद्धि भएको छ । विहीवार नेप्से परिसूचक २५.५७ अंक बढेर १९३६.८३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंकले बढेको छ ।

विहीबार कारोबारमा आएका २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा समेत सुधार भएको छ । नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ ।

जसमध्ये जलविद्युत उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, लगानी, विकास बैंक, अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र सयपत्री हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर, फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य २.९७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।