अर्थतन्त्रमा संकट नभएर चुनौती मात्र थपिएको अर्थमन्त्री शर्माको दाबी

होमल्याण्ड खबर

२०७९ मंसिर १५ गते, बिहीबार १२:५० मा प्रकाशित

बिहीबार आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थतन्त्र संकटमा नरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । अहिले केही चुनौतीको सामना अर्थतन्त्रले गरिरहेको भन्दै उनले यसलाई संकट भन्न नमिल्ने तर्क गरे ।

शर्माले भने, ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु नबुझ्ने कुरा हो, चुनौती छन्, त्यसको सामना गर्ने उपाय खोज्नु पर्छ ।’ आर्थिक सूचकांकले समेत यस्तै संकेत गर्ने उनको भनाइ छ । मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न समेत उनले आग्रह गरे । नेपालको अर्थतन्त्र ह्वात्तै घट्ने र सिधै माथि जाने अवस्था नरहेको उनले बताए । यद्यपि राजस्व संकुचन र उत्पादन वृद्धि हुन नसकेको उनले स्वीकार गरे ।

उनले नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दियको समेत बताए । नेपालको अर्थतन्त्रकोभविष्य उज्ज्वल रहेको भन्दै उनले अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए । अब बन्ने सरकारले संस्थागत समृद्गिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।