४ चैत्र २०८२, बुधबार
जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद सीके राउतले आफ्नो पार्टी गठबन्धन सरकारमा सामेल हुने बताएका छन् ।
‘हामीसँग तीनवटा विकल्प थिए । सरकारमा जाने, सरकारलाई समर्थन मात्र गर्ने वा प्रतिपक्षमा बस्ने । हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता भएपछि हामी सरकार जान तयार भएका छौं । तर हामी मन्त्री बन्न मात्र जाने होइन, जनताको काम गर्न जाने हो । सरकारमा जानका लागि हाम्रा केही सर्तहरु छन् । किसान आन्दोलनका मुद्दा, नागरिकता विधयेक, शिक्षा, स्वास्थ्य, रोजगारी कुरामा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । सरकारमा गएर जनअपेक्षा बमोजिमका काम जान सकिन्छ भन्नेमा विश्वस्त भएका छौं,’ राउतले भने ।


पाँच दलीय गठबन्धन र जनमत पार्टीबीच कुनै लिखित सहमति नभएको पनि उनले बताए । राउतले थपे, ‘शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार, रोजगारी सिर्जना र किसानको समस्या समाधान हुने गरी प्रदेशमा भौतिक, सामाजिक विकास र अर्थ मन्त्रालय सम्हाल्न सक्छौं । केन्द्रमा भौतिक योजना पूर्वाधार र उद्योग मन्त्रालय चलाएर जनताका लागि काम गर्न सक्छौं ।’
राउतले आफ्नो पार्टीलाई कुनै बाह्य सहयोग नभएको पनि स्पष्ट पारे । उनले थपे, ‘प्रधानमन्त्री शेरबहादुर देउवासँग त मेरो पहिलो पटक हिजो भेट भयो । यहीँको धेरै नेताहरुसँग त मेरो देखभेट भएको छैन । बाहिरको शक्तिकेन्द्रले कसरी सहयोग गर्ने ?’
हिजोको भेटमा देउवा खुसी भएको पनि उनले बताए । राउतले भने, ‘उहाँ खुसी हुनुभयो । बधाई दिनुभयो । स्वागत पनि गर्नुभयो ।’ आफ्नो पार्टीलाई ओलीले केपी शर्मा ओलीले खुला राजनीतिमा नल्याएको दाबी पनि उनले गरे । राउतले भने, ‘हामीलाई केपी ओलीले ल्याएको होइन, हामी आफैं खुला र शान्तिपूर्ण राजनीतिमा आएका हौं । हामीले नचाहेको भए उहाँले ल्याउन सक्नुहुन्थ्यो र ?’