देउवाले बनाएका सांसदले अरूलाई संसदीय दलको नेता बनाउदैनन : चन्द्र भण्डारी

होमल्याण्ड खबर

२०७९ मंसिर २८ गते, बुधबार ११:५४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले पार्टीमा परम्परागत रुपमा झगडा गर्नुभन्दा पावर सेयरिङ गरेर जानुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको अवस्था नियाल्दा २९ लाख मतदाता थपिँदा पनि कांग्रेसको मत घट्यो । त्यसैले अब पार्टीमा नयाँ तरिकाले सोच्नुपर्ने अवस्था छ । संसदीय दलमा सर्वसम्मत हुन नसके स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ । तर पम्परागत रुपमा झगडा गर्ने, एकले जित्ने र हार्ने भन्दा पनि पावर सेयरिङ गरेर जाने कि भन्ने छलफल चल्दै छ,’ भण्डारीले भने ।

पार्टीको संसदीय दलमा आफ्नो समूहले जित्ने अवस्था नभएको पनि उनले स्वीकार गरे । भण्डारीले थपे, ‘हो, पुरानो नेतृत्वमा विश्वास कम भएको छ । तर संसदीय दलमा भोट हाल्ने त प्रत्यक्ष र समानुपातिकबाट आउने सांसदले नै हो । उनीहरुको राय पनि बुझ्नुपर्छ । जनताले नयाँ अनुहार खोजे पनि संसदको संरचना अनुसार हाम्रोतिर नतिजा आउँछ जस्तो लाग्दैन । त्यहाँ शेरबहादुर देउवाले बनाएका मानिस नै ज्यादा छन् । उहाँको बहुमत छ । अब अल्पमतलाई कसरी लिएर जाने भन्ने कुरा शेरबहादुरजीले पहल गर्नुपर्छ । धेरै किचपिच गर्दा मुलुकले निकास पाएन । राजनीतिमा सधैं जितिन्छ भन्ने हुँदैन । भोलिको नेतृत्वका निम्ति पनि हामीले तयारी गर्नुपर्‍यो ।’