बाबुराम भट्टराईको साथ छाडेका नेताहरू नयाँ पार्टी बनाउँदै

होमल्याण्ड खबर

२०७९ मंसिर २९ गते, बिहीबार १४:२२ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई छोडेका नेताहरूले नयाँ पार्टी बनाउने भएका छन् ।

बाबुरामले माओवादी केन्द्रसँग एकता गर्ने गरी चुनावी तालमेल गरेपछि असन्तुष्ट नेताहरू नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका हुन् । बाबुराम पुरानै पार्टी माओवादी केन्द्रमा फर्किने भएपछि असन्तुष्ट नेताहरूले वैकल्पिक शक्ति बनाउने तयारी गरेका छन्।

बाबुरामले नयाँ शक्ति बनाउँदा साथ दिएका नेताहरू जम्मा भएर नयाँ पार्टी बनाउन काठमाडौंमा भेला बोलाएका छन् । काठमाडौंस्थित रानीवनको एक होटेलमा राष्ट्रिय भेला गरेर छलफल अघि बढाएको एक नेताले बताए ।

यसरी भेला गर्नेमा डम्बर खतिवडा, केशव दाहाल, मुमाराम खनाल, प्रशान्त सिंह, मदन राई, वीरेन्द्र पोखरेल, अशोक श्रेष्ठ लगायतका नेताहरू छन् ।

तत्काल बाबुराम छोडेका नेताहरूलाई जोडेर पछि अरू पार्टीका नेताहरू समेतलाई जोडेर अघि बढिने खतिवडाले बताए । चुनावदेखि चुनावसम्म र संसददेखि संसद्सम्म भन्दा देशमा भएका तमाम विकृति र विसङ्गतिलाई प्रहार गर्ने गरी बलियो वैकल्पिक शक्ति बनाउने तयारी गरिएको छ ।

तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशमा वैकल्पिक शक्ति बनाउने भन्दै निकै प्रयास गरेका थिए । अन्तमा उनको प्रयास असफल भएपछि पुनः उनलाई छोडेका नेताहरूले पहल लिन लागेका हुन् ।