आज दिउँसो १ बजे नवनिर्वाचित सांसदहरुको शपथ

होमल्याण्ड खबर

२०७९ पुष ७ गते, बिहीबार ११:०१ मा प्रकाशित

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् ।

शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार अधिकांश सांसदहरुले नेपाली भाषामा शपथ ग्रहण गर्दा २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् । नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् । उनीहरुले हिन्दीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।