प्रधानमन्त्रीमा प्रचण्ड र राष्ट्रपतिमा शेरबहादुर देउवा भए जोडा मिल्छ : रामनारायण बिडारी

होमल्याण्ड खबर

२०७९ पुष ८ गते, शुक्रबार १२:०८ मा प्रकाशित

 नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले अहिलेको स्थितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नै प्रधानमन्त्रीका निम्ति उपयुक्त पात्र भएको बताएका छन् ।

‘पावर सेयरिङ ठ्याक्कै यसै गरी गर्ने भन्ने सूत्र त छैन । तर पुस १० भित्र गठबन्धनकै सरकार बन्छ । पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने टुंगो नलागेको स्थितिमा जनतालाई नयाँ सन्देश दिनका निम्ति प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ । बाँकी पद राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष तीन दलका बीचमा छलफल गरेर बनाउँदा हुन्छ,’ बिडारीले भने ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बनाउनुपर्ने पनि औंल्याए । बिडारीले भने, ‘अहिले मुलुकलाई चाहिएको राष्ट्रपति शेरबहादुरजी नै हो । त्यसका लागि उहाँ सबैभन्दा उपयुक्त हुनुहुन्छ । देशलाई ट्रयाकमा लैजाने उपयुक्त उम्मेदवार उहाँ नै हो । उमेरका हिसाबले पाको, सक्षम र विश्वसनीय उहाँ नै हुनुहुन्छ । शेरबहादुर उहाँ डिप्लोम्याट नेता हो । सबैलाई मिलाएर लैजाने नेता हो । उहाँले छलफलपछि प्रधानमन्त्रीमा दाबी छाड्नुहुन्छ । प्रधानमन्त्रीका लागि सक्रिय र नेतृत्व क्षमता भएका नेता प्रचण्ड हुँदै हुनुहुन्छ । प्रधानमन्त्रीमा प्रचण्ड र राष्ट्रपतिमा शेरबहादुरजीको जोडा मिलाउनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।’

कांग्रेसले दोस्रो चरणमा प्रधानमन्त्री लिनु उचित हुने पनि बिडारीको तर्क छ । उनले भने, ‘कांग्रेसबाट कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा कांग्रेसले नै तय गर्ला । रामचन्द्र पौडेल, गगन थापा वा कुनै महिला प्रधानमन्त्री भए पनि हुन्छ ।’

उनले गठबन्धन तोडेपछि सरकारको नेतृत्वमा छलफल गर्ने एमालेको प्रस्ताव रणनीतिक भएको पनि बताए । माओवादी नेता बिडारीले गठबन्धन पाँच वर्ष कायम रहने दाबी पनि गरे । ‘अहिले गठबन्धन भत्काउनुपर्ने कुनै कारण छैन । पुरानो प्रतिबद्धतामा अन्यथा हुने स्थिति पनि छैन । चुनाव अघि त गठबन्धन गरेर लडियो भने अब सरकार चलाउन त झन् गठबन्धन अनिवार्य छ । गठबन्धन कसरी गर्ने भन्ने कुरा मात्र हो । यसमा अर्को विकल्प सोच्नु उपयुक्त हुँदैन,’ उनले भने ।