४ चैत्र २०८२, बुधबार
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन केहि घण्टामात्रै बाँकी रहँदा राजनीतिक दलहरु अन्तिम प्रयासमा जुटेका छन् ।
सत्ता गठबन्धनको सरकार बनाउने सैद्धान्तिक सहमति भए पनि कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा सहमति जुट्न नसक्दा कांग्रेस र माओवादी पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।


कांग्रेस नेताहरू बालुवाटारमा छलफलमा जुट्दा माओवादी केन्द्रका नेताहरू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा छलफलमा छन् । माओवादी बैठक चलिरहेका बेला कांग्रेस नेता विमलेन्द्र निधि खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।
प्रचण्डसँगको छलफलमा नेता निधिले गठबन्धन कायम राख्न पनि सहमति जरुरी रहेको भन्दै विकल्प नसोच्न आग्रह गरेका छन् । स्रोतका अनुसार त्यस क्रममा निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने बताएका थिए ।
‘कांग्रेसको बटमलाइन प्रधानमन्त्री र राष्ट्रपति हो । यसमा तपाई सहमतिमा आउनुपर्यो’, निधिको भनाई उदृत गर्दै एक नेताले भने । जवाफमा प्रचण्डले यदि प्रधानमन्त्री र राष्ट्रपति दुबै कांग्रेसले राख्ने हो भने गठबन्धन टुट्ने सक्ने भन्दै विकल्प खोज्न बाध्य हुने बताएका छन् ।
यसअघि निधि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको विशेष दूत बनेर गए राति एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए । राति बालकोटबाट फर्केका निधि आज बिहानै प्रचण्डसँग छलफल गर्न खुमलटारस्थित उनको निवास पुगेका हुन् ।
प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री बन्न आफुलाई सघाउन कांग्रेससँग आग्रह गरिरहेका छन् । तर, देउवाले पनि पहिलो चरणमै प्रधानमन्त्री बन्ने अडान कायम राखेका छन् । गठबन्धन बैठकअघि कांग्रेस र माओवादीका नेताहरू आन्तरिक छलफलमा रहेका बेला निधिको खुमलटार प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।