बालकोटमा चार दलको बैठक जारी

होमल्याण्ड खबर

२०७९ पुष १० गते, आईतवार १४:३३ मा प्रकाशित

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक दलहरुले गठबन्धन गरेर नयाँ सरकार गठनको प्रयास थालेका छन् । नयाँ सरकार गठनमा शक्ति बाँडफाँटका विषयमा दलहरुबीच भागबन्ड नमिल्दा कांग्रेस नेतृत्वको गठबन्धन संकटमा परेको छ भने नेकपा एमालेले माओवादी केन्द्रसहित अन्य दलहरुसँग मिलेर नयाँ गठबन्धन निर्माणको प्रयास थालेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली‚ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरू सहभागी रहेका छन् ।

बैठकमा एमाले नेताहरू विष्णु पौडेल‚ शंकर पोखरेल‚ विष्णु रिमाल‚ माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ‚ देव गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहभागी भएका छन् ।

बालुवाटारबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेका हुन् । दाहाल पुग्नुअगावै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए । अहिले लिङ्देन निस्किएका छन् भने एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल र रास्वपाका अध्यक्ष लामिछानेसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् । दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरत थालेका हुन् ।