कांग्रेस-एमाले मिल्नुपर्छ भनेको भन्यै गर्‍यौँ तर कांग्रेसले सुन्दै सुनेन : सूर्य थापा

होमल्याण्ड खबर

२०७९ पुष १२ गते, मंगलवार १६:२२ मा प्रकाशित

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद सूर्य थापाले आफू मन्त्री बनाए हुने तर नबनाए नरुने बताएका छन्।

रिपोर्टर्स क्लबमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले दलीय प्रणालीमा मन्त्री हुने नहुने भन्ने कुरा दलको इच्छामा भर पर्ने बताए।

‘पार्टीले जिम्मा दिएको काम पूरा गर्ने हो, पार्टीले पठाएर प्युठानमा चुनाव जितेर आएको छु’, तीन–चार पटक जितेका नेताहरू हाम्रोमा थुप्रै हुनुहुन्छ। व्यक्तिगत आवश्यकताले मडारिने कुरा हुँदैन। पार्टीको निर्णय अनुसार चल्ने हो।’ उनले अब झुक्किएर पनि माओवादीसँग पार्टी एकता नहुने बताए।

‘आजको स्थितिमा पार्टी एकता कुनै हालतमा हुन दिइँदैन। पार्टी एकताका नाममा पार्टी कब्जा गर्ने अभ्यास भयो विगतमा त्यसबाट हामीले शिक्षा लिएका छौँ, थापाले भने, ‘यदि त्यस्तो भयो भने बहसको माग गरिन्छ।’

आफू ठुला दुई पार्टी मिलेर सरकार बनाउनुपर्छ भन्ने पक्षमा रहेको भन्दै उनले त्यसलाई कांग्रेसले सुन्दै नसुनेको बताए।

‘हामीले कांग्रेस–एमाले मिल्नुपर्छ भनेर भनेको भन्यै गर्‍यौँ तर कांग्रेसले सुन्दै सुनेन’ थापाले भने, ‘चितवनको गैँडालाई बरु काउकुती लाग्यो होला, तर हाम्रा कुराले शेरबहादुर दाइ (शेरबहादुर देउवा)लाई कहीँ छोएन।’

त्यसै कारण विभिन्न विकल्पमा जाँदा अहिलेको परिस्थिति निर्माण भएको थापाको तर्क छ।