४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई पत्र बोकेर राजदूत श्रीवास्तव प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए । भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ ।


भेटमा प्रधानमन्त्री प्रचण्ड र राजदूत श्रीवास्तवबीच नेपाल–भारत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्ड र भारतीय राजदूतबीच पहिलोपटक औपचारिक भेटवार्ता भएको हो । प्रचण्ड यही पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । प्रचण्ड प्रधानमन्त्री भएलगत्तै मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएको स्रोतले जानकारी दिएको छ ।