पाँचथरमा आगोमा जलेर २ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७९ पुष २० गते, बुधबार १०:५८ मा प्रकाशित

पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।

मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरुको अवस्था सामान्य छ । उनीहरुको टाउको, हात र खुट्टामा आगोले पोलेको छ । उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको डिएसपी खतिवडाले जानकारी दिए ।

आगो लागेको जानकारी १ बजेर ५५ मिनेटमा पाउनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानीटारबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा ५ जनाको टोली गएको थियो । थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालय फिदिमबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा २५ जनाको टोली दुई वटा दमकल सहित गएको थियो । राति साढे १ बजे लागेको आगो आज बिहान सवा ४ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।

घटनास्थल अस्थायी प्रहरी चौकी तमाखे  रानीटारबाट अन्दाजी ९ किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अन्दाजी २५ किलोमिटर पूर्वमा पर्दछ ।